काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले चाँडै पूरा गर्ने बताएका छन्।
राजधानीमा आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी काम सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बतएका हुन्।
यस अन्तर्गत निजी आवासको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको उनले बताए ।
अर्थमन्त्री शर्माले २०७२ सालको भूकम्पले क्षति गरेका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचना सरकारका नियमित कार्यक्रममा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताए । साथै विपद व्यवस्थापन सम्बन्धी कार्य विपद व्यवस्थापन प्राधिकरणमार्फत् सम्पन्न गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका वस्तीहरूको स्थानान्तरणका लागि एकीकृत वस्ती विकास कार्यक्रम अघि बढाइएको तथा वस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको जानकारी गराए ।