फाइल तस्बिर
पर्वत । फलेवास नगरपालिकामा २ वटा भूमिगत सिंचाइ आयोजना निर्माण गरिएको छ। नगरपालिकाको वडा नं ६ को देवीस्थान र चौबिसकुरियामा दुईवटा भूमिगत सिँचाइ आयोजना निर्माण गरि सञ्चालनमा ल्याइएको हो।
३०–३० लाख रुपैयाँ लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले दुईवटा आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हो।
जमिनमुनिको पानी तानेपछि अहिले हिउँदे बालीमा सिँचाइ गर्न सहज भएको स्थानीय बताउँछन्। चौबिसकुरियामा निर्माण भएको भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १२ लिटरका दरले पानी निस्किएको छ । देवीस्थान भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको छ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वतका प्राविधिक लोकबहादुर खड्काका अनुसार दुवै आयोजनाबाट २० हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । दुवै आयोजनाबाट प्रतिघण्टा तीन रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।