पर्वत। पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको लाइन काटिएको छ। लामो समयदेखि विद्युत बक्यौता रकम नतिरेपछि नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले सडकबत्तीको लाइन काटेको हो।
नगरपालिकाले २०७५ सालदेखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएको वितरण केन्द्रले जनाएको छ । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायत महसुल तिर्न पटक पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि लाइन नै काट्नुपर्ने बाध्यता भएको वितरण केन्द्रले जनाएको छ।
विद्युत् प्राधिकरणका अनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्माले ७४ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । कुश्मा नगरपालिका र विद्युत् प्राधिकरणबीच ४ वर्षअघि सडकबत्ती राख्ने सम्झौता भएको थियो ।