काठमाडौं। बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले नवलपरासीमा निर्माण गरेको १९ किलोमिटर लामो प्रसारण लाइन मंगलबारदेखि सञ्चालनमा आएको हो।
बर्दघाट १३२/११ केभी सस्टेसनदेखि बर्दघाट नगरपालिका–२ र ५ मा पर्ने बन्डा खोला, दाउन्ने धार्मिक वन, घिउ खोला सामुदायिक वन, विनयीत्रिवेणी गाउँपालिका–२, खुमल्टार हुँदै सर्दीमा रहेको होङ्गसी सिमेन्ट उद्योगसम्मको क्षेत्रमा पर्ने प्रसारण लाइन निर्माण गरिएको हो ।
आयोजनाका अनुसार यो प्रसारण लाइन सञ्चालनमा आएपछि खासगरी नवलपरासीका औद्योगिक ग्राहकलाई विद्युत आपूर्ति सहज हुनेछ । यो प्रसारण लाइन समयमा पूरा नहुँदा यस चिनियाँ लगानीको ठूलो होङ्सी शिवम् सिमेन्टलाई वैकल्पिक व्यवस्था गरेर लाइन दिनुपरेको थियो ।