राजविराज। चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण सुरु भएको छ । जापान सरकारको आर्थिक सहयोगमा चन्द्र नहरको पुनर्निर्माण भइरहेको हो ।
जापान सरकारले नेपाललाई चन्द्र नहरको पुनर्निर्माणका लागि २ अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’को पुनःनिर्माण गर्ने गरी काम सुरु गरिएको बताइएको छ। मर्मतको काम जापानी कम्पनी हाज्माले पाएको छ ।
आगामी २ वर्षभित्रमा मर्मतसम्भारका सबै पूरा गर्नुपर्ने सम्झौता भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले ३१ किलोमिटर नहरको सुरु विन्दुदेखि अन्त्यसम्मको ३२ वटा नयाँ पुल र साइफन निर्माण गर्न हाज्मासँग सम्झौता गरिएको छ।