काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आहाल, पोखरी र ताल तलैया निर्माण गर्ने परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्ने बताएका छन्। विश्व पानी दिवस, २०२४ का अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्ने बताएका हुन्।
सहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाइ छ। उनले प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा गर्न समेत आवश्यक रहेको बताए।
भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै राष्ट्रपति पौडेलले अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएका बताए ।