काठमाडौं। सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ अबको डेढ महिनाभित्र ब्रेक थ्रु गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने आयोजनाले जनाएको हो।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले नियमितरूपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको हो।
कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२.७९ किलोमिटर सुरुङ निर्माण भइसकेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुख लगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीय स्तरमा नै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिएका छन् ।
निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजिकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । यस्तै, हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले दिएको निर्देशनअनुसार आयोजनाको प्रगति प्रभावकारी रुपमा अगाडि बढेको हो ।