काठमाडौं। जर्मनी तथा युरोपेली युनियनका अधिकारीले नेपालको ऊर्जा क्षेत्रमा अनुदान बढाउने प्रतिबद्धता जनाएका छन् । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिट को नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैङ्क (केएफडब्लु) प्रतिनिधि टोलीले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गर्दै उक्त प्रतिबद्धता जनाएका हुन्।
अनुगमनका क्रममा टोली प्रमुख गिजेला ह्याममरस्मिटले नेपालको ऊर्जा क्षेत्रको विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धता जनाउँदै लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेका छन्।
यसै अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ताभित्र निर्माणसम्पन्न गरी सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेको टोलीलाई जानकारी गराए।
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबिच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिँदै कार्यकारी निर्देशक घिसिङले पछिल्लो पटक निर्माणसम्पन्न गर्न तय गरिएको समयसीमाबाट कोही पनि उम्किन नपाउने बताए।