हुम्ला। सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा सेवा विस्तार गरेको छ। सडक यातायात नजोडिएका हिमाली जिल्लामा सहुलियत दरमा उडान भरेर जनतालाई सेवा प्रदान गर्न उडान थपिएका हुन्।
नेपाल एयरलाइन्स हुम्लाका प्रमुख दानबहादुर सुनारले एउटा उडानबाट शुरु भएको सिमकोटका लागि अहिले हप्तामा चार वटा उडान भइरहेको जानकारी दिए। यात्रुको चापलाई ध्यानमा राखेर उडान विस्तार गरेको उनको भनाइ छ।
नेपालगञ्जबाट हुम्लाका लागि अन्य निजी विमान सेवा कम्पनीहरुले प्रतियात्रु चार्टर फ्लाइटको ११ हजार रुपैयाँ भडा लिँदै आएकोमा नेपाल एयरलाइन्सले साता हजार ३१५ रुपैयाँ मात्र लिने गरेको छ।
नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख किरण श्रेष्ठ सरकारका लक्ष्यअनुसार दुर्गमका जनतालाई सेवा प्रदान गर्नकै लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा सहुलियत उडान थप गरिएको बताए।
उनले हुम्ला र मुगुमा हप्ताको चारवटा उडान, जुम्लाका लागि दुई उडान शुरु भएको जानकारी दिए। कर्णालीको डोल्पाको जुफालका लागि उडान शुरु गर्न अनुमतिका लागि लेखेर पठाएको र अब चाँडै उडान शुरु हुने उनको भनाइ छ।