काठमाडौं । सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी हालसम्म प्रयोग गरेको बत्तीको बक्यौता महसुल तिर्न आग्रह गरेको हो।
प्राधिकरणले विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान समेत आग्रह गरेको छ। आवश्यक परे किस्ताबन्दीको सुविधा माग गरी बक्यौता महसुल भुक्तानी गर्न पनि प्राधिकरणले भनेको छ ।
सडकबत्तीको ग्राहक नबन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र विनामिटर अनधिकृत तवरबाट सडक बत्ती जडान गर्नेहरुको लाइन जुनसुकै बेला काट्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।
प्राधिकरणका अनुसार स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेबाफत करिब ६ अर्बभन्दा बढी बक्यौता छ ।