दैलेख। दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका उपकरण पुर्याइएको छ। चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान पुर्याइएको हो।
अहिले साना पाँच वटा ट्रक दैलेख पुगेका छन् भने ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ ।
भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ । अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ ।
उपकरण दैलेख पुग्नासाथ अब चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ।