दोलखा। तामाकोसी–बाह्रबिसे–काठमाडौं चार सय केभी प्रसारण लाइनको पहिलो खण्डमा सातवटा मात्र टावर उठाउन बाँकी छ । आयोजनाको यी टावर उठाएर लाइन ताने आउँदो असारदेखि सिन्धुपाल्चोकको बाह्रबिसेबाट खिम्ती हुँदै विद्युत तराई र काठमाडौंसम्म पुग्छ । प्रसारण लाइनको ११८ वटा टावर निर्माण गर्नुपर्छ । १११ वटा टावर उठाएर लाइन तान्ने काम जारी छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा पाँच वटाको जग तयार गर्ने र टावर उठाउने काम जारी रहेको आयोजनाका सहायक प्रबन्धक गजेन्द्र यादवले जानकारी दिए । काम सुरु हुन नसकेको दुईमध्ये बाह्रबिसे नगरपालिकाभित्रको एक टावरको काम चाँडै सुरु गर्ने तयारीमा आयोजना छ । दोलखाको मेलुङ गाउँपालिका–७ सित्तलीमा रहेको टावर पनि सुरु गर्ने प्रक्रियामा रहेको उनले बताए ।
तीमध्ये सात वटामात्र उठाउन बाँकी छ । ती टावरको पनि काम भइरहेको उनले बताए । रामेछाप, दोलखा र सिन्धुपाल्चोकका केही टावर निर्माणमा समस्या भएकाले आयोजनाको काम नै ढिलाइ भएको छ । एक वर्षअघि सिन्धुपाल्चोकमा केही टावरको डिजाइन परिवर्तन र थपिएका टावरका सामान आयातमा अर्थ मन्त्रालयको अनुमतिमा ढिलाइ हुँदासमेत आयोजनाको काम ढिलाइ भएको छ । कारोबार दैनिकबाट