काठमाडौं। कुल ८०० मेगावाट ग्रिड कनेक्टेड सौर्य विद्युत् परियोजना विकास गर्न बोलपत्र आह्वान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागले सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरेको हो ।
परियोजना विकासका लागि प्रतिपर्धामा भाग लिन चाहने इच्छुक तथा योग्य कम्पनीले बढीमा कुल क्षमता १५० मेगावाटबाट नबढ्ने गरी एउटै वा विभिन्न परियोजना निर्माण गर्ने गरी बोलपत्र दर्ता गर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ।
परियोजना विकासका लागि छनोट भई जिम्मेवारी पाउने कम्पनीले १० मेगावाट वा सोभन्दा कम क्षमताको परियोजना छ भने विद्युत् खरिद सम्झौता भएको मितिले १८ महिनाभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउनु पर्ने छ भने १० मेगावाट वा सो भन्दा माथिको क्षमताका आयोजना छ भने २४ महिनामा निर्माण सकी सञ्चालनमा ल्याउनु पर्ने छ । यसरी प्रतिस्पर्धाबाट छनोट भई आयोजना विकास गर्ने विकासकर्तासँग प्राधिकरणले २५ वर्षसम्म विद्युत् खरिद गर्ने जनाएको छ ।