काठमाडौं। नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीसँग आग्रह गरिएको छ। बुधबार नेपाली राजदूतावास भारतले नयाँ दिल्लीमा आयोजना गरेको ुपावर समिट–२०२४’ मा सहभागी भएका नेपाली प्रतिनिधिहरूले भारतीय व्यवसायीसँग नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन्।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्त वातावरण भएको बताएका छन्। उनले ढुक्क भएर लगानी गर्न सकिने दाबी समेत गरे।
भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भइरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए । त्यस्तै, अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले नेपालमा ऊर्जामा लगानीको ठूलो सम्भावना देखेको बताउँदै लगानीको लागि आफूहरु इच्छुक रहेको बताए । केयर रेटिङ लिमिटेडका बरिष्ठ निर्देशक सव्यासची मजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्वपूर्ण हुने बताए । नेपाल लगानी बोर्डका सह–सचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे ।