काठमाडौं। चार वटा जलविद्युत आयोजनाका लागि ९९ अर्ब भन्दाबढी लगानी स्वीकृत भएको छ। लगानी बोर्ड अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले ५९७.२ मेगावाटका ४ आयोजनाका लागि ९९ अर्ब १८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो।
बैठकले २५० मेगावाटको सौर्य विद्युत् परियोजनाका लागि २१ अर्ब १० करोड रुपैयाँ लगानी, १३९.२ मेगावाटको लोवर मनाङ मर्स्याङ्दीमा ३३ अर्ब ४१ करोड रुपैयाँ, १६६ मेगावाटको सुपर तमोर आयोजनाका लागि ३४ अर्ब ५९ करोड रुपैयाँ र ४२ मेगावाटको अप्पर मोदी ‘ए’ का लागि १० अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ।
बैठकले चिनियाँ लगानीकै हुवासिन नारायणी सिमेन्ट परियोजनामा थप ६ अर्ब ६३ करोड रुपैयाँ लगानीप्रस्तावबारे अध्ययन गरी १५ दिनभित्र प्रस्ताव पेश गर्न बोर्डका सहसचिवको संयोजकत्वमा एक कार्यदलसमेत गठन गरेको छ ।
बैठकले दाङ सिमेन्ट परियोजनाको स्वीकृत सेयर पर्चेज एग्रिमेन्ट ९एसपिए० अनुसार लगानी रकम फिर्ता लैजान स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै बोर्ड बैठकले तमोर जलाशय आयोजनाको अध्ययन गर्न गठित समिति र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका एवम् परयोजना विकास तथा लगानीको ढाँचासम्बन्धी अध्ययन गर्न गठित समितिको म्याद २०८१ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।