काठमाडौं। २५० मेगावाटको सौर्य विद्युत परियोजनाका लागि २१ अर्ब लगानी स्वीकृत भएको छ।
बिहीबार बसेको लगानी बोर्डको ५७औँ बैठकले कोहलपुर तथा बाणगंगामा निर्माण गर्न प्रस्ताव गरिएको २५० मेगावाटको सौर्य विद्युत् परियोजनाका लागि २१ अर्ब १० करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो।
परियोजना सिंगापुरको रिजेन इनर्जीले निर्माण गर्न लागेको हो। बैठकले उक्त सोलार परियोजना र ३२७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत् परियोजनाको विकास सम्झौता (पिडिए) का लागि विकासकर्तासँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको अध्यक्षतामा वार्ता समिति समेत गठन गरेको छ।
बैठकले उक्त सौर्य परियोजनासहित ५९७.२ मेगावाटका चार वटा विद्युत आयोजनाका लागि ९९ अर्ब १८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।