काठमाडौं। चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ। विस्तार हुने कलंकीदेखि महाराजगन्ज खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गर्न आएको हो।
सोमबार आएको टोलीले साइटबारे अनौपाचारिक रूपमा बुझ्ने काम थालेको छ भने आगामी आइतबारबाट भने संयुक्त रूपमा साइट भिजिट गरिने चक्रपथ विस्तार आयोजनाले जानकारी दिएको छ। कम्पनीका प्राविधिकले हेरेर ठीक छ भन्ने प्रतिवेदन चीन सरकारलाई दिएपछि सो क्षेत्रको काम अघि बढ्ने जनाइएको छ । त्यसपछि डिजाइन र कन्स्ट्रक्सन टोली चीन सरकारले पठाउने योजना रहेको छ।
हाल कलंकीदेखि महाराजगन्जसम्म ८.२ किमि सडक विस्तार गर्न लागिएको हो। चीन सरकारको अनुदान सहायतामा विस्तार हुन लागेको सडकअन्तर्गत महाराजगन्जको २ सय ४४ मिटर खण्डमा मात्र समस्या रहेको र अन्यत्र कतै समस्या नभएको आयोजनाले जानकारी दिएको छ। दोस्रो खण्डको काम सुरु भएपछि तेस्रो खण्डको प्रक्रिया अघि बढाइने भएको छ।
सुरुमा नेपाल सरकारले चीनसँग गोपीकृष्ण पुलसम्म ११.६ किमि सडक विस्तार गर्न आग्रह गरेको थियो। तर चीन सरकारले यसलाई तेस्रो खण्डमा विस्तार गर्ने योजना रहेको बताएको थियो। पहिलो खण्ड विस्तार गर्ने बेला चीन सरकारसँग सबै साइट क्लियर गरिसकेपछि मात्र चिनियाँ टोली काम गर्न आउने सहमतिपत्रमा हस्ताक्षर भएको थियो। तर विविध समस्याको कारण सहमति अनुसार साइट क्लियर गर्न नसकेको आयोजनाले जनाएको छ। हाल सबै साइट क्लिएर भइसकेको र चर्कपथ क्षेत्रमा मुआब्जाको काम मात्र बाँकी रहेको जनाइएको छ। साइट क्लियर भएको रिपोर्ट आयोजनाले हेनानलाई मंसिर ८ मै पठाएको थियो। रिपोर्ट पठाएपछि टोली हेर्न आएको हो।
सो सडकको ड्रइङ, डिजाइनदेखि निर्माणका सबै काम सम्पन्न गरेर चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको कारणले गर्दा लागत कति लाग्छ भनेर अहिले नै यकिन गर्न नसकिने आयोजनाले जनाएको छ। यसैगरी स्वयम्भूको स्तूप भएको ४०/५० मिटर ठाउँले समस्या नगर्ने आयोजनाले जनाएको छ। यसअघि पनि चीनकै अनुदान सहायतामा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) ८ लेनमा विस्तार भइसकेको छ।