म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा सबस्टेसन निर्माणको काम सुरु नहुँदा निर्माणाधीन जलविद्युत आयोजना अन्योलमा परेका छन्।
ठेक्का सम्झौताको समयावधि सकिने बेलासम्म पनि सबस्टेसन निर्माणको काम सुरु नै नहुँदा राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनालाई समस्या पर्ने भएको हो।
नेपाल विद्युत प्राधिकरणले राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रोसँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको थियो।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सवस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो। २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेसनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम पनि भएको छैन्।
म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको ४ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। केही आयोजनाको काम त अन्तिम चरणमा छन्। सबस्टेसन निर्माणको काम सुरु नै नहुँदा यी जलविद्युतबाट उत्पादिन विद्युत के गर्ने भन्ने अन्योल बढेको हो।