काठमाडौं। कर्णाली नदीमा ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशय आयोजना निर्माण गरिने भएको छ। आयोजना निर्माणका लागि प्रवर्द्धक कम्पनी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको हो।
विभागले उक्त कम्पनीलाई उत्पादन अुनमति दिनका लागि आयोजनाले कुनै उल्लेख्य वातावरणीय असर गर्ने भए त्यसबारे लिखित राय सूझाव पेश गर्न आह्वान गर्दै ३५ दिने सूचना सार्वजनिक गरेको छ ।
आयोजना निर्माका लागि प्रवर्द्धक कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारी स्वीकृत गराइसकेको छ । प्रतिवेदन अनुसार आयोजनाको मुख्य संरचनाहरु अछामको ढकारी गाउँपालिकामा पर्दछन् । त्यस्तै आयोजनाको भूमिगत विद्युत्गृह सोही गाउँपालिकाको वडा नम्बर ६ मा निर्माण गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाको विद्युत् गृहमा ६ वटा टर्वाइन राखेर विद्युत् उत्पादन गरिने छ ।