सुर्खेत। कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ। आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने प्रक्रिया सुरु गरेको हो।
विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान अनुमति दिइएको थियो। सोही अनुमितअनुसार रुखमा छपान कार्य सकिएको आयोजनाले जनाएको छ। विद्युत् विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान गरिने भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखमा छपान गरिएको छ। सरकारले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने छ हजार दुई सय ३६ रुख कटान अनुमति दिइएको हो।