बागलुङ। चैत पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ। पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।
ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको १३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन आयोजनाले जनाएको छ।
सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्र केन्द्रीय प्रसारण लाइनले जोडिए पनि पश्चिम बागलुङमा केन्द्रीय प्रसारण लाइन पुगेको थिएन। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ।