काठमाण्डौं। स्थानिय तहको आम्दानी बढाउन पर्वतको जलजलामा स्लेटखानी उत्खनन गरिँदै छ। कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा यहाँका स्थानीय तहको आन्तरिक आम्दानी घटेको छ।
नदीजन्य पदार्थको उत्खननबाट वार्षिक दुई करोड आम्दानी गर्दै आएका कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको आम्दानी शून्य भएको छ।
नदीको आम्दानी गुमेपछि गाउँपालिकाले स्लेट ढुङ्गालाई उत्खनन गरी निकासी गर्ने र गाउँपालिकाको राजस्वमा वृद्धि गर्ने सोच बनाएको छ। यसले खेर गएको ढुङ्गाले बजार पाउने र स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्न सकिने गाउँपालिकाले बताएको छ।
स्लेट ढुङ्गा उत्खनन तथा कटिङ ढुङ्गा उद्योग सञ्चालन कार्यविधि २०७८ तर्जुमा गरी लागू गर्न लागिएको जलजलाका राजस्व अधिकृत लीलाधर सुवेदीले जानकारी दिए। गाउँपालिकाले स्लेट ढुङ्गा भएका जग्गाधनी र गाउँपालिकाबीच बिहीबार सम्झौता गरेको छ। अब विगतमा जस्तै स्लेट ढुङ्गा निकासीमा व्यवसायीले बेचौलियाको सङ्गत गर्न नपर्ने र पारदर्शिता कायम हुनाका साथै गाउँपालिकाको राजस्वमा वृद्धि भई स्थानीय जनताका माग सम्बोधन गर्न सहज हुने उनले बताए।
जलजलाका माझफाँट, बाँसखर्क, शालिजा, बनौ, लेखफाँटलगायत यसअघि पनि स्लेटखानी उत्खनन गरिए पनि दर्ता प्रक्रिया नपुगेको भन्दै पालिकाले रोक लगाएको थियो। अब भने सबै स्थानीय तहबाट अनुमति लिएर सञ्चालन गर्न पाउने भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।