काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले माथिल्लो अरुण र दुधकोशी जलविद्युत आयोजनाको निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्।
सरकार र माथिल्लो अरुण र दुधकोशीका प्रस्तावित लगानीकर्ता विश्व बैङ्क र एसियाली विकास बैङ्कबीच बिहीबार भएको छलफलमा अर्थमन्त्री पुनले आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा सरकार स्पष्ट रहेको बताएका हुन्।
बैठकमा अर्थमन्त्री पुनले माथिल्लो अरुण र दुधकोशी जस्ता ठुला आयोजनाको निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताए। उनले आयोजनाका लागि सहजीकरण गर्न तयार रहेको समेत बताए।
मन्त्री पुनले दुई ठुला आयोजनाको निर्माणपछि नेपालको अरू ठुला आयोजना निर्माणका लागि क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे।