काठमाडौं। जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा उप–महानिर्देशक सञ्जिव बराल नियुक्त भएका छन्। बैशाख २ गतेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री स्तरीय निर्णयबाट संस्थाकै उपमहानिर्देशक बराललाई महानिर्देशकमा नियुक्त गरिएको हो।
यसअघि बराल विभाग अन्तर्गत बहुउद्देश्यीय तथा सिँचाइ महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा समानरूपमा विज्ञता हासिल गरेका बराल जुझारु, अध्ययनशील र सरकारी निकायमा तीव्र रूपमा पदोन्नति हुँदै आएका कर्मचारी मानिन्छन् । जलविद्युत्, जलस्रोत र सिँचाइका क्षेत्रमा करिब १८ वर्षको अनुभव हासिल गरेका उनी विभागको जिम्मेवारीमा आउनु अघि करिब १३ महिना बागमती प्रदेशको सचिवको भूमिकामा थिए ।
हाल विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका चुर्णबहादुर ओली जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन् ।