जुम्ला। कात्तिकमा आएको बेमौसमी अविरल वर्षापछिको बाढीले तातोपानी गाउँपालिका–७ सर्मीस्थित समानतडाको काठेपुल बगाएको थियो। पुल बगेपछि प्रभावित भएका करिब पाँच गाउँका नागरिकलाई मध्यनजर गर्दै पूर्वाधार विकास कार्यालयले बाढीले काठेपुल बगाएको दुई महिना नपुग्दै समानतडामा ‘स्टिल ट्रस ब्रिज’ निर्माण सम्पन्न गरेको छ।
उक्त ‘स्टिल ट्रस ब्रिज’ पुलको बुधबार पूर्व पशुपन्छी विकास राज्यमन्त्री गोमा कुँवरले उद्धघाटन गरेकी छन्। काठेपुल बगाएपछि प्रभावित भएका नागरिकले अब ढुक्क भएर आवतजावत गर्नसक्ने पूर्वमन्त्री कुँवरले जानकारी गराएकी छिन्। करिब ३२ मिटर लामो दूरीको ‘स्टिल ट्रस ब्रिज’ पुल ३३ लाख ३६ हजार लागतमा निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको अन्तिम समयतिर पुल निर्माण सुरु भएको भएपनि बीचमा कोरोनाका कारण सामान ढुवानी गर्न नसक्दा निर्माण बीचमै रोकियो थियो। कात्तिकमा आएको बाढीले पुरानो काठेपुलसँंगै निर्माणाधीन पुलका सबै स्काफोल्डिङ (सर्पोट) र केही ग्याबिन पनि बगाएको थियो।
यसैगरी पुल निर्माणपछि तातोपानी–७ का सर्मी, भेनचौर, तल्लो खप्डी, माथिल्लो खोप्डीलगायतका गाउँहरू लाभान्वित हुने भएका छन्। पूर्वाधार कार्यालयको प्राविधिक सहयोग र उपभोक्ताको सक्रियताले उक्त ‘स्टिल ट्रस ब्रिज’ चाँडै निर्माण भएर सञ्चालनमा ल्याउन सफल भएको हो।