जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी जलविद्युत आयोजना चार वर्षपछि अन्तिम चरणमा पुगेको छ । १८ महिनामै सकिनुपर्ने आयोजना करिब चार वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको हो । करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजना झण्डै ४३ करोड लगानीमा निर्माण भएको हो । चुकेनी जलविद्युत आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो ।
उक्त सम्झौताको मितिबाट १८ महिनामै सकिनु पर्ने थियो । तर म्याद थप गर्दै निर्माण गरे पनि आयोजना निर्माणले गति लिन नसक्दा आलोचना भएको थियो । चुकेनी जलविद्युत आयोजनाको कुल लागत ४३ करोड रहेको छ । जसमा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ भने १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको सेयर लगानी गरेका छन् ।
बत्ती बल्ने भन्दै विभिन्न भाका तोकिए पनि निर्माण पक्ष असफल हुँदै आएकोमा बल्लबल्ल बत्ती बाल्ने अन्तिम तयारी भइरहेको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीले आक्रोसित बनेका जुम्लाबासी चाँडै चुकेनीको बत्ती बल्ले खबरले उत्साहित भएका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत १८ महिनामा सकिनुपर्ने आयोजना करिब चार वर्षपछि अन्तिम चरणमा पुगेर बत्ती बल्ने कुराले खुसी भएको बताउँछन् । ढिलै भए पनि आयोजना निर्माण भयो ।
उनले भने, ‘चुकेनी विद्युत आयोजना अन्य आयोजना जस्तो अलपत्र भएन । सम्झौता मितिभन्दा ढिलै निर्माण भए पनि जुम्लाको बत्ती अभावको समस्या टर्ने भयो । उद्योगी व्यापारी तथा उपभोक्ताले राहत पाउने आशा छ ।’ पटकपटक बत्ती बल्ने भाका तोकिए पनि अससफल भएकाले अन्तिम अब नागरिकको प्रतीक्षा पूरा हुने उनको भनाइ छ । कारोबार दैनिकबाट