काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्षभित्र शतप्रतिशत नागरिकमा विद्युत् सेवा पुग्ने बताएका छन्। सोमबार एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एक वर्षभित्र शतप्रतिशत नागरिकमा विद्युत् सेवा पुगिसक्ने दाबी गरेका हुन्।
उनले एकीकृत प्रसारण लाइन बनाएर तारको जालो घटाउने प्रयास स्वरुप दोलखाको लामाबगरबाट बाह्रबिसेसम्म २२० केभी क्षमताको प्रसारण लाइन पनि बन्ने जानकारी समेत दिएका छन्।
अब दोलखामा प्रसारण लाइनको समस्या नहुने उनले बताए । यसका लागि खिम्ती–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक हिमाल पावर लिमिटेड र सरकारको संयुक्त लगानीमा छुट्टै कम्पनी स्थापना हुने उनले बताए । उक्त कम्पनीमा दोलखा र रामेछापबासीका लागि सेयर लगानी सुनिश्चित हुने उनले बताए ।
चाँडै संयुक्त कम्पनी बनाउने गरी छलफल चलिरहेको उनको भनाइ छ । हिमाल पावरसँग डलरमा भएको पिपिएको अवधि ४ वर्षअघि नै सकिएको र अब चाँडै खिम्ती–१ को ५० प्रतिशत स्वामित्व सरकारको नाममा आउने उनले बताए ।