काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपालले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष द्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँगको भेटवार्तामा यस्तो बताएका हुन्।
उनले सरकारका तर्फबाट ऊर्जा, यातायात र सहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको समेत बताएका छन्।
उनले गत सातामात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोसीको वित्तीय ढाँचाबारे विश्व बैंकका काठमाडौंस्थित अधिकारीहरुसँग भएको ‘राउण्डटेबल’ बैठक फलदायी भएको भन्दै छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्नेमा आशा व्यक्त गरे ।
दुवै आयोजना नेपालको ‘गेम चेन्जर’ भएको उनले ती आयोजनाको विकासले नेपालको ठूला पूर्वाधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आगामी असारभित्रमा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन हुनेमा आफूहरु ढुक्क रहेको उनले उल्लेख गरे ।
माथिल्लो अरुण आयोजना क्षेत्रका प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति वितरण, पहुँचमार्ग निर्माण तथा जमिनको अधिग्रहणजस्ता काम सकिने चरणमा पुगेको उनले जानकारी दिए । नेपालले जलविद्युतका लागि क्षेत्रीय बजारको समेत सुनिश्चितता गरेको भन्दै उनले भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरेको र बंगलादेशले समेत नेपालको विद्युत् किन्ने प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे ।