काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले माथिल्लो अरुण र दूधकोसी नेपालको ‘गेम चेन्जर’ भएको बताएका छन्। अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष द्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँगको भेटवार्तामा नेपालले पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएको भन्दै यस्तो भनेका हुन्।
उनले दुवै आयोजना नेपालको ‘गेम चेन्जर’ भएको बताउँदै यी आयोजनाको विकासले नेपालको ठूला पूर्वाधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। आगामी असारभित्रमा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन हुनेमा आफूहरु ढुक्क रहेको उनले उल्लेख गरे ।
माथिल्लो अरुण आयोजना क्षेत्रका प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति वितरण, पहुँचमार्ग निर्माण तथा जमिनको अधिग्रहणजस्ता काम सकिने चरणमा पुगेको उनले जानकारी दिए । नेपालले जलविद्युतका लागि क्षेत्रीय बजारको समेत सुनिश्चितता गरेको भन्दै उनले भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरेको र बंगलादेशले समेत नेपालको विद्युत् किन्ने प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे ।