रुपन्देही। रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण गर्न सुरु गरिएको छ। ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा बुधबार पेट्रोलियम भण्डारणगृह निर्माणको शुभारम्भ गरेका हुन् ।
नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्य सुरु गरिएको छ।
भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले खरिद गरेको १३.५ बिघा जग्गामा नयाँ भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ ।
यो भण्डारणगृहले लुम्बिनी प्रदेशका लागि चाहिने पेट्रोलियम पदार्थको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ ।