काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले लामाबगर–बाह्रबिसे २२० केभी क्षमताको प्रसारण लाइन बन्ने बताएका छन्।
‘दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एकीकृत प्रसारण लाइन बनाएर तारको जालो घटाउने प्रयास स्वरुप दोलखाको लामाबगरबाट बाह्रबिसेसम्म २२० केभी क्षमताको प्रसारण लाइन बन्ने बताएका हुन्।
लामाबगरभन्दा माथि बन्न लागेका आयोजनालाई लक्षित गरी सो प्रसारण लाइन बन्न लागेको हो ।
छुट्टाछुट्टै आयोजनाले प्रसारण लाइन बनाउँदा तारैतारको जालो हुने भएपछि एउटै प्रसारण लाइन बनाउन लागिएको छ । अब दोलखामा प्रसारण लाइनको समस्या नहुने उनले बताए । यसका लागि खिम्ती–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक हिमाल पावर लिमिटेड र सरकारको संयुक्त लगानीमा छुट्टै कम्पनी स्थापना हुने उनले बताए । उक्त कम्पनीमा दोलखा र रामेछापबासीका लागि सेयर लगानी सुनिश्चित हुने उनले जानकारी दिए। चाँडै संयुक्त कम्पनी बनाउने गरी छलफल चलिरहेको उनको भनाइ छ ।