बिर्तामोड। निर्माण कम्पनीले सडक निर्माणमा लापरबाही गर्दा झापाको बिर्तामोडस्थित सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्किएको छ । बिर्तामोडको सैनिकमोडदेखि दक्षिणपट्टी ढुंगाना हार्डवेयर अगाडिको सडक कालोपत्रे गरेको एक सातामै भत्किएको हो ।
निर्माण कम्पनीले गुणस्तरहीन सडक बनाइदिएकाले कालोपत्रे गरेको एक सातामै सैनिकमोड–सैनिकबजार सडक भत्किएको सतानु–सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । खनाल–शान्ति जेभीले सैनिकमोडदेखि चार किलोमिटर दक्षिण सैनिक बजारसम्म पाँच करोड २४ लाख रुपैयाँमा ठेक्का पाएर निर्माण गरेको सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्किएको उनले बताए ।
सडक निर्माणमा कस्तो सामग्री प्रयोग गरिएको छ, कामदारले काम कस्तो गरेका छन् भन्ने विषयलाई बेवास्ता गरेर बनेको सडक कालोपत्रे गरिएको एक हप्ता नपुग्दै भत्किएको बताउँदै उनले त्यसबारे सडक डिभिजन कार्यालय दमकमा जानकारी गराइसकेको जनाए । सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोले समस्या हुँदा उपभोक्ताको चर्को दबाबपछि सो सडक ठेकेदारले निर्माण गरेको उनको भनाइ छ ।
निर्माण कम्पनीले लापरबाही गरी गुणस्तरहीन सडक बनाउँदा सडकको कालोपत्रे भत्किएको भन्दै उपभोक्ता आक्रोशित भएका छन् । निर्माण कम्पनीले कालोपत्रे गर्दा मापदण्ड अनुसारको सामग्री नराखेकै कारण एक सातामै कालोपत्रे भत्किएकाले निर्माण कम्पनीलाई सम्झौता गरेअनरूप गुणस्तरीय र टिकाउ काम गर्न उनीहरूले सुझाव दिएका छन् । कारोबार दैनिकबाट