काठमाडौं। विद्युत् नियमन आयोग अबको केही दिनपछि पदाधिकारीविहीन हुँदैछ । बहालवाला अध्यक्ष तथा सदस्यसहितको पदावधि सकिँदै गर्दा नयाँ नियुक्ति प्रक्रिया अघि नबढेकोले अबको १० दिनपछि नै आयोग पदाधिकारीविहीन हुने भएको हो।
अध्यक्षसहित ५ सदस्यीय पदाधिकारीको व्यवस्था रहेको आयोगमा यसअघि नै २ जना सदस्य रिक्त छन्। आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह र सदस्य भागिरथी ज्ञवालीको ५ वर्षीय पदावधि वैशाख २२ गते सकिँदै छ। त्यसपछि आयोग पदाधिकारीविहीन भई कानुन अनुसार काम गर्न नसक्ने अवस्थामा पुग्ने छ ।
नयाँ पदाधिकारी नियुक्तिका लागि डेड महिना अगाडि समिति गठन गरिएको भएपनि समितिको एक पटकबाहेक बैठक बस्न सकेको छ ।
आयोगलाई पदाधिकरीविहीन बन्न नदिन ऊर्जा मन्त्रालयले डेढ महिनाअघि नै अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको थियो । समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी संयोजक, मन्त्रालय प्रशासन महाशाखाका सहसचिव तोयानारायण सुवेदी सदस्य सचिव र विज्ञ सदस्यको रूपमा पूर्वसचिव सुमनप्रसाद शर्मा मनोनित भएका छन् ।
विद्युत् नियमन आयोग ऐन अनुसार गठित उक्त समितिले प्रतिस्पर्धाका आधारमा आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गर्नुपर्छ । आवेदनका लागि कम्तिमा १५ दिनको समय छुट्ट्याउनुपर्ने ऐनमै व्यवस्था छ ।
त्यसैले आजैका मितिबाट नियुक्ति प्रक्रिया सुरु भए पनि झण्डै डेढ महिना आयोग पदाधिकारीबिहीन हुन्छ ।