काठमाडौं। पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति ४० प्रतिशत मात्र पुगेको छ। ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत मात्र भएको हो।
भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नसकेपछि आठ महिना ठेक्का म्याद थपिएको थियो।
अहिलेको जस्तै सुस्त गतिमा काम भइरहे थपिएको समयावधिमा पनि आयोजना पूरा हुन मुस्किल हुने देखिन्छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो। मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।