काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देशमा भएको ऊर्जा विकासको उपलब्धि बहुदलीय प्रजातन्त्रले ल्याएको बताएका छन्। चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशमा भएको ऊर्जा विकासको उपलब्धि तथा रूपान्तरण २०४६ सालपछिको बहुदलीय प्रजातान्त्रिक प्रणालीले ल्याएको बताएका हुन्।
उनले भने, ‘द्रुत ऊर्जा विकासमार्फत देशले समृद्धि हासिल गर्न सक्ने प्रबल सम्भावना छ, यसमा सरकार निजी क्षेत्रको संयुक्त लगानी अपरिहार्य छ। त्यसका लागि ऐन, कानुन र नीति नियममा सहजीकरण गर्दै लगानीकर्तामा उत्साह भर्नुपर्छ ।’
निजी क्षेत्रले पनि मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर लगानी बढाउँदै जानुपर्ने राष्ट्रपतिको भनाइ छ।
नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत छिमेकी भारतमा बिक्रीका लागि सम्झौता गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने उनले विश्वास व्यक्त गरे ।