काठमाडौं। ‘विद्युत् विधेयक, २०८०’ निजी क्षेत्रका लागि लगानीमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको बिहीबारको प्राविधक सत्रमा सहभागी वक्ताहरूले ‘विद्युत् विधेयक, २०८०’ निजी क्षेत्रका लागि लगानीमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले विद्युत् प्रसारण लाइनलाई व्यवसायीक रुपमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई खुला गर्ने घोषणा गरे। संसद्मा विचाराधिन ‘विद्युत् विधेयक, २०८०’ बाट यसलाई समाधान गर्ने उनको भनाइ छ।
हाल विद्युत् विधेयक संसदको पूर्वाधार विकास समितिमा छलफलको चरणमा रहेको बताउँदै उनले निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्न पाउने गरी संसोधन गर्ने उनले बताए।
त्यसैगरी इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले संसदमा विचारधिन विद्युत् विधेयकलाई निजी क्षेत्र मैत्री बनाउने उद्देश्य सहित छलफल आयोजना गरेको बताए । उक्त विधेयक ‘विद्युत् ऐन, २०४९’ भन्दा प्रगतिशिल, निजी क्षेत्रमैत्री र लगानीमैत्री बनाउनुपर्ने उनको भनाइ छ।
पुर्वाधार विकास समितिका सदस्य तथा प्रतिनिधिसभा सांसद प्रदीप पौडेलले सरोकारवालासँग व्यापाक छलफल गरेर विद्युत् विधेयकलाई सर्वमान्य बनाउने बताए। सैद्धान्तिक रुपमा निजी क्षेत्र मैत्री कानुनी बनाउने पनि उनको भनाइ छ ।
पूर्वाधार विकास समितिका सदस्य माधव सापमकोटाले निजी क्षेत्रसँगको छलफल गरेर विधेयकलाई अन्तिम रुप दिने बताए । साथै, फराकिलो र बैज्ञानिक ढंगले विद्युत् विद्येयक अघि बढाउने उनको भनाइ छ ।