काठमाडौं। पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले विद्युत् प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने घोषणा गरेका छन्। राजधानीको भृकुटीमण्डपमा जारी चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको बिहीबारको प्राविधिक सत्रमा बोल्दै सभापति सिंहले विद्युत् प्रसारण लाइनलाई व्यवसायीक रुपमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई खुला गर्ने घोषणा गरेका हुन्।
संसद्मा विचाराधिन ‘विद्युत् विधेयक, २०८०’ बाट यसलाई समाधान गर्ने उनको भनाइ छ।
हाल विद्युत् विधेयक संसदको पूर्वाधार विकास समितिमा छलफलको चरणमा रहेको बताउँदै उनले निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्न पाउने गरी संसोधन गर्ने उनले बताए।
उनले नेपालका ड्याममा जम्मा हुने पानीबाट लाभ लिने छिमेकी मुलुकबाट पनि पैसा असुल गर्ने नीति ल्याइने बताए । उनले भने, ‘हामीले यहाँ ड्याम बनाउँदा त्यसको फाइदा छिमेकी मुलुकहरुलाई पनि हुन्छ। हामीले आफ्नै देशका नागरिकलाई सिँचाई सुविधा दिदाँ त पैसा लिन्छौ। छिमेकीलाई ड्याममा जम्मा हुने पानी निःशुल्क दिने भन्ने कुरा आउँदैन।’