काठमाडौं। आँधीखोला जलविद्युत केन्द्रको स्थानीय क्षेत्रमा वितरण हुँदै आएको विद्युतको नयाँ महसुल दर निर्धारण गर्न आज सार्वजनिक सुनुवाई हुने भएको छ।
बुटवल पावर कम्पनीले स्याङ्जामा सञ्चालन गरिरहेको ९.४ मेगावाटको आँधीखोला केन्द्रको स्थानीय क्षेत्रमा वितरण हुँदै आएको विद्युतको नयाँ महसुल दर निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको हो।
विद्युत नियमन आयोगले बिपिसीले नै आफैँ उत्पादन गरी जिल्लामा वितरण गर्दै आएको विद्युतको नयाँ महसुल निर्धारण गर्न गरेको प्रस्तावित दरका सम्बन्धमा सम्बन्धि सरोकारवालासँग सार्वजनिक सुनुवाई गर्न लागेको हो।
आयोग ऐन, २०७४ को दफा २१ र नियमावली, २०७५ को नियम १९ बमोजिम सम्बन्धित सरोकारवालाहरूसँग राय, सुझाव तथा प्रतिक्रिया लिनका लागि सार्वजनिक सुनुवाई आयोजना गर्न लागेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम स्याङ्जाको पुतलीबजारस्थित सिटी हलमा दिउँसो १ देखि ३ बजेसम्म हुनेछ ।