काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताएका छन्। काठमाडौँको चन्द्रागिरिमा मर्स्याङ्दी काठमाडौँ २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशनको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनलेले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताएका छन्। उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो।
सरकारी र निजी क्षेत्रबाट देशभर चार्जिङ स्टेसनहरू स्थापित भइरहेको उनले बताए । ुआगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ, उनले भने, 'पूर्णरूपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट पनि हो।’