सिरहा। हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत पूर्वी खण्ड ढल्केबर–इनरुवा प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन्। सिरहाको लहान नगरपालिकास्थित स्थानीयले क्षतिपूर्ति नपाएको भन्दै अवरोध गरेका हुन्।
स्थानीयले अवरोध गर्दा शुक्रबारदेखि तार तान्ने काम प्रभावित बनेको छ।
प्रसारण लाइन प्रभावित क्षेत्रका पीडितले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै सङ्घर्ष समिति घोषणा गरेका छन्। प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई आफूखुसी पोल र तार जडान गर्न लागेको दाबी गर्दै वडा नं ९, १०, ११, १३ र १४ का किसान मारमा परेको सङ्घर्ष समितिले जनाएको छ।
प्रशासनले वार्ता र छलफलमा ध्यान नदिएको भन्दै पीडितले वास्तविक क्षतिपूर्ति नपाउँदासम्म काम ठप्प पार्ने चेतावनी समेत दिइएको छ।