काठमाण्डौं। सूर्यविनायक नगरपालिकामा काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माण सुरु भएको छ। उपत्यका काँठ चक्रपथ अन्तर्गत दधिकोट तर्खगालबाट बिरुवा जाने सडक ११ मिटर चौडाइ विस्तार, स्तरोन्नति एवं कालोपत्र आजदेखि सुरु भएको हो।
सूर्यविनायक नगरपालिका–५ स्थित परोपकार, तर्खगाल, पातलेटार हुँदै बिरुवा जाने उक्त सडक वाग्मती प्रदेश परियोजना अन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालयको डिजाइन र सुपरिवेक्षणमा निर्माण सुरु भएको हो। उक्त अवसरमा प्रतिनिधिसभा सदस्य समेत रहेका नेता बस्नेतले एमाले सत्ता पक्ष वा प्रतिपक्षमा रहँदा पनि विकासकै लागि अहोरात्र खट्छ भन्दै सबै दलका नेताले विकासमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।
वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरका विकासले फड्को मारेको बताउँदै सहरी क्षेत्रको सडक मात्रै नभई गाउँगाउँका सडक फराकिलो र कालोपत्र भइरहेको उल्लेख गरेकाछन।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, वडा नं १ का अध्यक्ष साकुकाजी कायस्थ, वडा नं ४ का अध्यक्ष उत्तम थापा लगायतले विकासमा सूर्यविनायक निकै अगाडि बढेको चर्चा गरे।