काठमाडौं। पाल्पा–गुल्मी सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। मंसिर २५ गते शनिबारदेखि आगामी पुस १० गतेसम्म बन्द रहने भएको हो।
१५ दिनसम्म यही क्रम जारी रहने भएको छ। सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालका अनुसार प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहने छ। तानसेन रिडी सडकखण्डअन्तर्गत जोर्ते भीर आसपासमा सडक चौडा गर्ने काम जारी रहेकाले सडक अवरूद्ध गर्नु परेको हो।
सुरक्षा निकायका सवारी साधन र एम्बुलेन्स भने सञ्चालन हुन पाउने छन्। साना सवारी साधनले जोर्ते, लुहुङ, चण्डिभञ्ज्याङ, तानसेनको बतासे हुँदै वाइपास सडक प्रयोग गर्न सकिने लम्सालले जानकारी दिए। समयमै सडक विस्तारको काम सम्पन्न गर्नको लागि बन्द गर्नु परेको उनले बताए।
निर्माण व्यवसायी प्रदीप।शाइन जेभीले सडक चौडा गर्ने कामको ठेक्का लिएको छ। यसअघि १५ दिनसम्म ११ घण्टा बन्द गरिएको थियो।