काठमाडौं। कालीगण्डकी नदीमा ३८.१६ मेगावाटको आंशिक जलाशय जलविद्युत् आयोजना निमार्ण हुने भएको छ। मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले तनहुँको देवघाट र नवलपुरको गैँडाकोटमा पर्ने कालीगण्डकीमा आयोजना बनाउन लागेको हो।
कम्पनीले आयोजना निर्माणका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए रिपोर्ट) समेत तयार गरी विद्युत् विकास विभागमा अनुमतिका लागि आवेदन दिएको छ ।
आयोजनाको निर्माण २०८३ जेठसम्ममा सम्पन्न हुने लक्ष्य रहेको छ । आयोजनाबाट बार्षिक सरदर २२३.६२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन हुने विद्युत् १० किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको न्यू भरतपुर सबस्टेसन, चितवन जोडिने छ ।