काठमाडौं। भारतबाट आउने विस्फोटक पदार्थ रोकिँदा निर्माणाधीन तीन जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित बनेको छ।
भारतले नयाँ आयात र आयात नवीकरणका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिएपछि ३ निर्माणाधीन अवस्थामा रहेका परियोजनाको निर्माण प्रभावित बनेको हो।
पहिलादेखि ल्याइरहेको परियोजनाका लागि भने निर्वाधरुपमा विस्फोटक पदार्थ आयात प्रक्रिया रोकिएको छैन । तर, निर्माण सुरु भएका नयाँ परियोजनाका लागि चाहिने र यसअघिदेखि ल्याइरहेका तर म्याद थप्नुपर्ने परियोजनाका लागि भने अनुमति दिएको छैन । ६ महिनादेखि भारतले अनौपचारिकरुपमा विस्फोटक पदार्थ आयातमा झन्झट दिइरहेको बताइएको छ।
भारतले नयाँ अनुमति र सम्झौता नवीकरण नगर्दा २ दर्जनभन्दा बढी आयोजनाको निर्माण रोकिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले जनाएको छ । यसबाट १ हजार मेगावाट क्षमता बराबरका आयोजना प्रभावित बनेका छन् ।