काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति हालसम्म ३० प्रतिशत मात्र पुगेको छ।
आयोजनाको समष्टिगत भौतिक प्रगति ३० प्रतिशत र चालु आव हालसम्मको भौतिक प्रगति १२५.७५ प्रतिशत रहेको हो। आयोजनाको समग्र वित्तीय प्रगति २७.७३ प्रतिशत र चालु आवको वित्तीय प्रगति ९२.१५ प्रतिशत पुगेको बताइएको छ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुङको ‘ब्रेक थ्रु’ गरेको यो आयोजना सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोसी–७ कान ढुङ्ग्रीसम्म सुरुङ रहेको छ। यसको क्षेत्रफल १३.३ किलोमिटर छ ।
नदीमा बाँध बाँधेर सुनकोसीको पानी मरिन खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको आयोजनाले जनाएको छ ।