काठमाडौं। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका– १, २, ४ र सिदिङ्वा गाउँपालिका– ५ र ६ मा निर्माण गर्न लागिएको २८ मेगावाटको माथिल्लो काबेली जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा गरिएको छ।
अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी पिस इनर्जी कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाका लागि कुल ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँको वित्तीय व्यवस्थापन पूरा गरिएको हो।
कम्पनीले ‘पाइलट प्रोजेक्ट’को रूपमा अघि बढाउन लागेको आयोजनामा कुल लागतको ७५ प्रतिशतले हुन आउने ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ नेपाली बैंकहरूको ऋण लगानी रहने भएको छ। माछापुच्छ्रे बैंकको अगुवाइमा बैंकहरूले ऋण लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको हो। आयोजनामा माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ५० लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब र लक्ष्मी सनराइज बैंकले ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
आयोजनामा बाँकी २५ प्रतिशतले हुन आउने १ अर्ब ४१ करोड १९ लाख रुपैयाँ प्रवर्द्धकहरूको स्वपूँजी (इक्विटी) रहने छ । आयोजनाले स्थानी प्रभावित तथा सर्वसाधारणका लागि आइपिओसमेत जारी गर्ने जनाएको छ ।