काठमाडौं। ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणका लागि २१ अर्ब १३ करोड लागत अनुमान गरिएको छ। ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी लगानी हुने आयोजनामा कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको हो।
स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।
तामाकोसी–५ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडवर्क्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ ।