काठमाडौं। १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा ५ वित्तीय संस्थाले १६ अर्ब लगानी गर्ने भएका छन्। उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको यस आयोजनामा बुधबार वित्तीय व्यवस्थापनको सम्झौता भएको हो।
आयोजनामा निजीतर्फ नबिल बैंक, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंक गरी तीन र सरकारीतर्फ कर्मचारी सञ्चय कोष र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को सह–वित्तीयकरणमा १५ अर्ब ९० करोड रुपैयाँ लगानी हुनेछ। लगानी सम्बन्धी सम्झौतामा जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ुजनताको जलविद्युत् कार्यक्रमु अन्तर्गत रहेको यो आयोजनाले कर्णाली प्रदेशलाई आर्थिक रूपमा समुन्नत बनाउने बताए।
ऋण सम्झौता कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले निर्माण पूर्वका सबै काम पूरा गरी परामर्शदाता छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र गरिएको जानकारी दिए।