काठमाडौं। काठमाडौंका विभिन्न ठाउँका जडान गरेका भूमिगत विद्युत प्रणालीको परीक्षण गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले केही दिनमा नै भूमिगत विद्युत प्रणालीको परीक्षण गरेर सञ्चालनमा ल्याउने तयारी थालेको हो।
प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी भएको जनाएको छ।
साथै, भूमिगत विद्युत प्रणाली योजना पूरा भइसकेका उल्लेखित ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन पनि प्राधिकरणले सूचना जारी गरेको छ ।
प्राधिकरणले तोकिएको स्थानमा पोल विस्तारै हटाउँदै जाने योजना रहेकाले त्यसमा जडान गरिएका उपकरण र संरचना हटाउन आग्रह गरेको छ।
