चितवन। चितवनको भरतपुरमा देवनगर सबस्टेसनको निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन निर्माण पूरा भइ सञ्चालनमा आएको हो।
भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ ।
गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ ।
देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर रहेका छन् ।
देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ ।